सरकार सफल नभए पार्टी र कम्युनिष्ट आन्दोलनको भविष्य खतरामा

dainikonline
नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ | पुस २७, २०७६ आइतबार | 0

क्रमशः

यसरी हामीले अहिले चाहिँ सिङ्गै पार्टीमा दोस्रो काम के गर्छौं भने अहिलेको राजनीतिक प्रतिवेदनले जुन वैचारिक, राजनीतिक लाइन व्यवस्थित गरेको छ, संस्थागत गरेको छ, त्यसलाई सिङ्गो पार्टीमा एकरुप समझदारीका साथ विकसित गर्नुछ । जहाँसम्म जनताको जनवाद र समाजवादको कुरो छ, तपाईंहरु पनि कन्फ्युजन नहुनुस् । हाम्रो पार्टीले के भन्छ भने सामन्तवादविरुद्ध पूँजीवादी जनवादी क्रान्ति आधारभूतरुपमा सक्कियो । अहिले समाजवादी क्रान्तिको नयाँ ऐतिहासिक चरणमा छौं र हाम्रो रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम समाजवाद हो तर अहिले नै समाजवादको पूर्ण कार्यक्रम लागू गर्न न भौतिक आधार तयार भएको छ, न सत्तामा कम्युनिष्टहरुको एकाधिकार कायम छ । सत्ताको क्रान्तिकारीकरण पनि भइसकेको छैन, बिस्तारै गर्नुछ । भौतिक आधार पनि तयार भइसकेको छैन । त्यसकारण समाजवादको सबै कार्यक्रम अहिले नै लागू गर्न चाहिँ सकिन्न । त्यसकारणले अहिले चाहिँ समाजवादउन्मुख जनताको जनवादलाई लागू गर्दै, राष्ट्रिय पूँजीको विकास गर्दै, उत्पादन शक्तिको विकास गर्दै, उत्पादनको बृद्धि गर्दै, समन्यायिक वितरण गर्दै, सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गर्दै समाजवादको आधार तयार पार्ने काम तात्कालिक कार्यदिशा हो ।

हाम्रो आम कार्यदिशा समाजवाद हो तर समाजवादमा जानको लागि अहिले तात्कालिक कार्यक्रम र कार्यदिशा चाहिँ समाजवादउन्मुख जनताको जनवाद हो । त्यसबाटै अगाडि बढ्नुपर्छ भन्ने कुरा एकदमै स्पष्ट छ । यो कुरामा पनि भ्रममा हुनु भएन तपाईंहरु कलम चलाउने प्रचार क्षेत्र वा मोर्चाका साथीहरु । 

तेस्रो कुरा हामी के गर्न खोज्दैछौं, कता जाँदैछौं त ? भन्दाखेरि सरकारको कुरा आउँछ । हाम्रो सरकार करीव दुई तिहाईको सरकार छ । संघीय सरकार, ६ वटा प्रदेश सरकार र बहुसंख्यक स्थानीय सरकारहरु हाम्रो पार्टीले सञ्चालन गरिरहेको छ । जनताले यस्तो जनादेश दिएका छन् ।

अर्को काम हामीले के गर्छौं भने यो सरकारलाई हरहालतमा सफल पार्ने । कतिपय साथीहरुले वर्गसंघर्ष कहाँ गयो अहिले भन्नुहुन्छ । वर्गसंघर्षलाई अहिलेको सापेक्षतामा बुझ्नुपर्यो । अहिलेको वर्गसंघर्षको मुख्य मोर्चा सरकार हो । हामीले हाम्रो वर्गको निम्ति, आम जनताको निम्ति सरकारलाई सफल पार्न सक्नुपर्छ । सरकारलाई सफल पार्ने काम आजको महत्वपूर्ण काम हो । त्यो काम गरेनौं भने पार्टी संगठनलाई व्यवस्थित गर्दै गर्दै लगे पनि सरकारचाहिँ सफल भएन भने हाम्रो पार्टी र कम्युनिष्ट आन्दोलनको भविष्य खतरामा छ । अहिले सरकार सफल हुनैपर्छ, सरकार सफल पार्नैपर्छ । यो राजनीतिक परिवर्तन कम्युनिष्ट पार्टीको नेतृत्वमा आयो, यो परिवर्तन राजनीतिक परिवर्तनमा मात्रै सीमित भयो कि हाम्रो जीवनमा पनि परिवर्तन भयो ? हाम्रो जीवन साँच्चिकै फेरियो कि फेरिएन ? हामीले हाम्रो पोल्टामा, हाम्रो काखमा के पायौं भनेर जनताले बुझिराखेका छन् । यो कार्यभारचाहिँ हामीले पूरा गर्नुपर्छ । त्यो पूरा गर्ने भनेको सरकारलाई सफल पारेर, सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गरेर, त्यो समृद्धिलाई आमजनताले भोग गर्न पाउने नयाँ प्रकारको विकासको मोडेललाई हामीले क्रियान्वय गर्नुपर्छ । राजनीतिकरुपमा नयाँ प्रकारको लोकतन्त्र स्थापित गर्यौं । विकासको नयाँ मोडेललाई कार्यान्वयन गर्नुपर्छ । त्यो विकासको नयाँ मोडेलले हामीले समाजवादउन्मुख समृद्धिमा पुराउँछ र समाजवादको आधार तयार पार्छ । हाम्रो तेस्रो काम चाहिँ सरकारलाई हरहालतमा सफल बनाउनुपर्छ ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जेसुकै होस् भन्न थाल्यौं भने त्योभन्दा ठूलो आत्मघात केही पनि हुन्न । हरहालतमा यो सरकार सफल हुनुपर्छ । यसको मतलव सरकारले गरेका कमीकमजोरीहरुको आलोचना गर्नु हुँदैन भनेको होइन । सरकारले गरेका सकारात्मक कामलाई दृढतापूर्वक समर्थन गरौं । त्यसको प्रचारप्रसार गरौं । त्यसलाई निरन्तरता दिऊँ । कमीकमजोरीहरुको पनि गम्भीर आत्मसमीक्षा गर्नु र त्यसलाई सच्याएर सरकारलाई हरहालतमा सफल पारौं । सरकारलाई सफल पार्नु भनेको हाम्रो लक्ष्यलाई पूरा गर्नु हो । त्यो दिशातर्फ हामी जानुपर्छ । 

सरकारले गरेका कामको बारेमा लामो व्याख्यामा समयको सीमाले गर्दा म अहिले जान सक्दैन तर यति कुरा त प्रष्ट छ कि तीन÷चारवटा कुरा यो सरकारले गरेको छ । त्यसलाई आत्मसात गर्नुपर्यो, शिर ठाडो पारेर प्रचार गर्नुपर्यो ।

राष्ट्रियताको बारेमा नेपालमा पहिलोपटक सरकारले कुनै पनि विदेशी शक्तिको हस्तक्षेपबाट देशलाई मुक्त राखेको छ । नेपाल सार्वभौमसत्तासम्पन्न स्वतन्त्र देश त रह्यो तर बाह्य हस्तक्षेपबाट गुज्रँदै आएको थियो । राजनीतिक क्षेत्रमा, आन्तरिक मामिलामा हस्तक्षेप प्रक्रियाबाटै गुज्रिएर आएको हो । हाम्रो पार्टीको सरकार बनिसकेपछि विदेशीहरुले हस्तक्षेप गर्ने प्रयत्न यो वा त्यो रुपमा गरे पनि हस्तक्षेपबाट आफूलाई मुक्त राखेका छौं । नेपालले पहिलोपटक स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गरेको छ । व्यवहारमा त्यसलाई सावित गरेको छ । अहिले कालापानीको मुद्दामा पहिलोचोटि हाम्रो पार्टीको सरकार तथा प्रधानमन्त्री स्वयंले पहिलोचोटि लिम्पियाधुरासहितको कालापानी र लिपुलेक क्षेत्र नेपालको हो भनेर सरकारको तर्फबाट पहिलोपटक आधिकारिक प्रस्ताव भारतसमक्ष पठायो । पहिले हामीले कालापानी, लिपुलेकको कुरा गथ्र्यौं । लिम्पियाधुराको कुरा चाहिँ बुद्धिजीवी, विभिन्न जनवर्गीय संगठन वा विभिन्न पार्टीहरुले आआफ्नो ढङ्गले उठाउँथ्यौं तर राज्यले, सरकारले पहिलोपटक भन्यो कि लिम्पियाधुरा लेकयता सबै हाम्रो हो, त्यो भूभाग हामीलाई फिर्ता गर्नुपर्छ । औपचारिक प्रस्ताव नै राखियो । देशभित्र बहुदलीय, बहुपक्षीय वार्तामा पनि प्रधानमन्त्रीले त्यही कुरा प्रस्ताव गर्नुभयो । भारतसँगको नोटमा पनि सरकारले त्यही कुरा पठायो । सरकारले पहिलोचोटि भन्यो कि लिम्पियाधुरा हामी छोड्दैनौं । यस्तो कुरा राज्यले नै औपचारिकरुपमा नै भन्यो । यो कुराको प्रचारचाहिँ हुँदै भएको छैन । राष्ट्रियताको मामलामा हामी अगाडि बढिरहेका छौं र यो पनि देखिइरहेको छ कि राष्ट्रियताको मामलामा हाम्रो सरकारको स्वतन्त्र परराष्ट्र नीतिको अवलम्बन गर्ने दृढता देखिसकेपछि यसलाई कसरी भत्काउन सकिन्छ भनेर भडकाउन विभिन्न साम्राज्यवादी, विस्तारवादी, प्रभूत्ववादी शक्तिहरु र विभिन्न नबुझेका शक्तिहरुले वा प्रतिक्रियावादी शक्तिहरुले प्रयत्न गरिरहेका छन् । तर, हामी ठाडो अस्वीकार गरेर अगाडि बढ्छौं ।

दोस्रो कुरा सरकारले के गर्यो भन्नुहोला भने नेपालको संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य संप्रभुता, आवासलाई नागरिकको मौलिक अधिकारको रुपमा संस्थागत गरेको छ । यो मौलिक अधिकार जनताले साँच्चै व्यवहारमा लागू गर्न पाएको अवस्थामा नेपाली समाज र नेपाली जनताको जीवनमा गुणात्मक परिवर्तन हुन्छ । संविधानमा हामीले त्यत्तिकै लेखेको त होइन । यो क्रियान्वयन गर्नका लागि कानून चाहिन्छ । त्यसकारण सरकार र जनप्रतिनिधिमुलक संस्थाको पहिलो ध्यान संविधानले व्यवस्था गरेको मौलिक अधिकारलाई क्रियान्वयन गर्न कानून बनाउनेतिर गयो । कानून बनाउने काम सकियो । अब त्यसलाई व्यवहारमा लैजाँदा हाम्रो समाजमा गुणात्मक परिवर्तन देखा पर्नेछ । यी पाँचवटै मौलिक अधिकार विश्वका कतिवटा देशको संविधानले व्यवस्था गरेको छ ? एकदमै कम छ । औंलामा गन्न सकिन्छ । हामी त्यो ठाउँमा छौं ।

तेस्रो के गर्यो त हाम्रो सरकारले भन्दाखेरि पहिलोचोटि हाम्रो देशमा संघीयताको अभ्यास भइरहेको छ । संघीयताको अभ्यास गरेर ४०÷५० वर्ष अगाडि बढिसकेका मुलुकहरुमा पनि संघीयतमा समस्या छ, जटिलता छ, यो त अन्तर्विरोधकै बीचमा अगाडि बढ्छ । संघीय व्यवस्था एकात्मक केन्द्रीकृत व्यवस्था जस्तो सरल व्यवस्था होइन । तर पनि यो हाम्रो लागि उपलव्धिमूलक छ भनेर स्वशासनको निम्ति, तलैबाट जनतालाई समेटेर विकासको प्रक्रिया अगाडि बढाउनका निम्ति हामीले संघीय व्यवस्थामा जाने निर्णय गर्यौं । संविधानमा व्यवस्था गर्यौं । त्यसलाई क्रियान्वयन गर्न ठूलो चुनौती छ तर सरकारले अहिले त्यसलाई छिचोल्यो र तीनवटै व्यवस्थापन गर्यो । त्यसको कानूनी व्यवस्थापन, विज्ञ व्यवस्थापन र कर्मचारी व्यवस्थापन । सरकारले तीनवटै कुराको व्यवस्थापन गर्यो र नेपालमा संघीयता क्रियान्वयनमा गयो । यसलाई परिमार्जन र विकसित गर्ने काम त हुँदै जान्छ ।

चौथो कुरा । अहिले सरकार रणनीतिक विकासको लक्ष्यसहित तात्कालिक रुपमा के गर्न सकिन्छ भनेर अगाडि बढ्ने काम गरेको छ । सामाजिक सुरक्षाको महत्वपूर्ण योजना क्रियान्वयनमा छ । त्यसपछि वैदेशिक रोजगारी बृद्धि गर्ने कामहरुको सन्दर्भमा सरकार अगाडि बढ्दैछ । एकातिर रेल्वे, पानी, जल यातायात, विजुलीका कुरा छँदैछन् । हामी चार÷पाँचवटा कुरा दिन्छौं । खानेपानी दिन्छौं, विजुली दिन्छौं, शिक्षा दिन्छौं, स्वास्थ्य दिन्छौं र बाह्रै महिना चल्ने बाटो दिन्छौं । यो सँगसँगै हामी सामाजिक न्यायसँग सम्बन्धित सामाजिक सुरक्षा दिन्छौं– बृद्ध, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु, बालबालिका, दलित, सिमान्तकृत समुदायमा । त्यसपछि समग्र आर्थिक वृद्धिको प्रक्रिया अगाडि बढाउँछौं । नेपाल चाहिँ आर्थिक वृद्धि राम्रोसँग अगाडि बढेको मुलुकको रुपमा वल्र्ड बैंक र आइएनएफले बताएका छन् । दोस्रो, नेपालमा बिजनेस इन्डेक्स माथि गयो । भन्नुको अर्थ यहाँ लगानीको वातावरण बन्यो, आर्थिक क्रियाकलाप बढेर गयो । तेस्रो, पहिलोपटक व्यापार घाटा थोरै भए पनि कम भयो । गुणात्मक त छैन । थोरै भए पनि कम भएको छ । यो प्रक्रियाबाट हामी अगाडि बढिरहेका छौं । त्यसकारण जे हो त्यो हामीले भन्न सक्नुपर्यो । 

हो । हामीले गर्नुपर्ने धेरै कामहरु छन् । पहिलो कुरा त सुशासनको क्षेत्रमा यत्तिमै सन्तुष्ट हुने ठाउँ छैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित सुशासन कायम गर्ने क्षेत्रमा अझ बढी मेहनत गर्नुपर्ने आवश्यकता छ । किनभने जनतालाई उसको पोल्टामा धेरै भौतिक उपलव्धि दिलाउनसक्ने पहिलो खोजेको कुरा के छ भने संविधान, कानून र नियमपूर्वक हुने कामहरु घुस नखाईकन र भनसुन नगराएरै हुने दिन शुरु भए भन्ने सन्देश दिनुछ । तेस्रो हाम्रो विकास बजेट खर्च गर्ने कुरा छ । अहिले पनि असारे विकासको प्रवृत्ति बाँकी छ । असार पछाडि ५०/६० प्रतिशतमा विकास बजेट खर्च भइरहेको छ । यसरी विकास अगाडि बढ्दैन । यसलाई गुणात्मक फड्कोमा अगाडि बढाउनु पर्नेछ । अर्को हामीले गर्नुपर्ने काम के छ भने देशको पूँजीगत खर्च क्रियान्वयनको क्षमतामा गुणात्मक वृद्धि गर्नुपर्ने छ । त्यसपछि ठूलठूला उद्योग र निर्यात गर्ने सामान बनाएर व्यापार घाटा कम गर्ने कुरा छोड्नुस् । त्यो दिशामा विस्तारै जान सकिन्छ । अहिलेलाई आयात प्रतिस्थापन गर्नसक्ने र निर्यात गर्न सकिने क्षेत्र खोज्नुपर्छ । त्यसमा ध्यान दिने हो भने व्यापार घाटा कम गर्न सकिनेछ । गतवर्ष १३ करोडको गुन्द्रुक आयात भयो ल्हासाबाट । त्यसलाई त रोक्न सक्छौं नि । गुन्द्रुक त बनाउन सक्छौं नि । त्यस्तै क्षेत्र खोज्नुपर्यो हामीले । जो हामीसँगै छ, त्यसका लागि उद्योगै चाहिँदैन । त्यसलाई म्यानेज गरे पुग्छ । हामीले सहजीकरण गरे पुग्छ । अर्को काम गर्ने कुरा । सामाजिक सुरक्षासहितका काम गर्नु पनि उत्तिकै आवश्यक छ । त्यसपछि समग्रमा रणनीतिक योजनासहितको तत्कालीन, मध्यकालीन र अल्पकालीन विकास योजना बनाएर हामी अगाडि बढ्नुपर्छ । सरकार त्यो दिशामा काम गर्न प्रयत्नरत छ तर पर्याप्त छैन । त्यसको अर्थ सकारात्मक केही छैन भन्ने होइन । यसले आधार तयार गरेको छ । यसलाई गुणात्मक फड्कोमा लैजानुपर्छ । एकढिक्का भएर सरकारका उपलव्धिको प्रचार गर्ने र हामी सबै चनाखो भएर यो सरकारका कमीकमजोरी कहाँनेर छन् ? कहाँ सच्याउनुपर्ने छ ? भन्ने कुरा औंल्याउन जरुरी छ । ताकि यो सरकार हरहालतमा सफल बनोस् । 

चौथो काम हामीले गर्न खोजेको कुरा के हो त भन्दाखेरी शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको कामलाई हामीले पूरा गर्नुछ । तर, धेरै काम गर्न बाँकी छ । आयोगहरु सिफारिस गर्न बनेको कमिटीको अवधि ८/९ महिना भइसक्यो । त्यो कसै कसैले अल्झाइरहेका छन् । त्यसलाई अगाडि बढ्नै नदिने षडयन्त्र भइरहेको छ । त्यसको दोष हाम्रो सरकारमाथि आइरहेको छ । हामीले त्यसलाई पार गर्नुपर्छ । र, शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्ने दिशामा जानुपर्छ । यसका साथै अब हामी के गर्छौं त भने अहिले पार्टीले जनपरिचालनको योजना अगाडि सारेको छ । मुख्य मोर्चा सरकार हो तर सरकारले गरेका कामका अतिरिक्त पार्टीले जनपरिचालनको काम पनि सँगसँगै अगाडि बढाउने । ती पाँचवटा कामको रेखा जुन हामीले खिचेका छौं, त्यसपछि हामी शिर ठाडो पारेर, छाति खोलेर, उज्यालो मुख लगाएर अगाडि बढ्छौं र हामी महाधिवेशनको तयारीमा जुट्छौं । २०७७ सालमा महाधिवेशन गर्छौं । छिटै केन्द्रीय समितिको बैठक छ । त्यो बैठकले चार महिने वा तीन महिने कार्ययोजना बनाउँछ । त्यसपछिको स्थायी समितिको बैठकले जिल्ला अधिवेशन तयारीको योजना बनाउँछ । त्यसपछि २०७७ सालभित्र महाधिवेशन भइसक्छ । त्यसपछि हामीले अहिलेको चुनावको समीक्षा गर्दाखेरी कुनै तात्विक भिन्नता पाउनसक्ने अवस्थामा हामी छैनौं । माथि भनिएका पाँचवटा सारा काम ठिक ढङ्गले गर्यौं भने हामी गुणात्मक ढङ्गले जनतालाई उपलव्धि दिन्छौं र हामीले क्रान्तिलाई निरन्तरता दिनेगरी अहिलेको दुईवटा तात्कालिक सामाजिक न्यायसहित समृद्धिको लक्ष्यलाई अन्ततः रणनीतिक लक्ष्य पूरा गर्ने दिशामा अगाडि बढ्न सक्छौं । 

अब यी सबै काम गर्नलाई हामीले आआफ्ना मोर्चाहरुलाई सशक्त र क्रियाशील बनाउनुपर्छ । आआफ्नो मोर्चा क्रियाशील गर्नलाई प्रचार विभाग र प्रेस संगठन नेपालको साङ्गठानिक मोर्चा छ, त्यो मोर्चा मिलेर हामीले काम गर्नुपर्छ । प्रचार विभागले केही दिनभित्र पूर्णता पाउँछ । त्यसले पूर्णता पाइसकेपछि हामी मिडिया स्ट्राटेजी र एक्सन प्लान बनाउँछौं । एक्सन प्लान वा स्ट्राटेजी बनाउँदा हामी इन्चार्ज, सहइञ्चार्ज, संयोजक कमरेडहरुसहित लिडरशीपको टिम, जो प्रेस संगठनमा हुनुहुन्छ, उहाँहरु सबैसँग बसेर बनाइने छ । त्यसपछि क्रियान्वयनको प्रक्रियाको निम्ति हामी अगाडि बढ्छौं । पार्टीले गरेको काम, हाम्रो सरकारले गरेको काम, हाम्रो स्थानीयस्तरमा भइराखेका कामहरुको व्यापक प्रचारप्रसार गर्ने ।

अर्को कुरा के भने यति कुरा बुझिसकेपछि प्रतिक्रियावादीहरुले के गरिरहेका छन् ? के तिनले त्यत्तिकै हेरिराख्लान् ? प्रतिक्रियावादीहरुले यसलाई रोक्न जुनप्रकारको गतिविधि अहिले गरिरहेका छन्, त्यसलाई पनि काउन्टर गर्ने स्ट्राटेजी बनाउनु पर्छ । यसमा प्रचार मोर्चाको ठूलो भूमिका रहन्छ । एकातिर हाम्रो पार्टी र सरकारको माक्र्सवादको रक्षा, कार्यदिशाको प्रचारप्रसार, यसको क्रियात्मक योजनाको प्रचारप्रसार, त्यसको उपलव्धिको प्रचारप्रसार र अर्कोतिर प्रतिक्रियावादीहरुले यसलाई रोक्न गरेको विभिन्न प्रकारका गतिविधि, उनीहरुका विचार, क्रियाकलापहरुको भण्डाफोर गर्ने काम हामीले गर्नुपर्छ । 

यो सबै भनिरहँदा मैले अघि नै तपाईंहरुलाई भने, तपाईंहरुलाई हामीले पर्चाकार चाहिँ बनाउन मिल्दैन । तपाईंहरु पत्रकार नै बन्नुस् । पत्रकार बन्नुस् भनेर मैले किन जोड दिएको भने यहाँ आलोचनात्मक चेतको कुरा छ । आलोचनात्मक चेतसहित नै तपाईंहरुले कलम चलाउनुपर्छ । तपाईंहरुले मिडियामा काम गर्नुहुन्छ तर तपाईंहरुभित्र जब माक्र्सवादप्रति, हाम्रो पार्टीको लाइनप्रति विश्वस्त हुनुहुन्छ, र हाम्रो पार्टीप्रति आस्थावान भएर संगठित हुनुहुन्छ । त्यसको एउटा मोर्चा प्रेस संगठनमा संगठित हुनुहुन्छ भने हामीले भन्नै नपर्ने गरी तपाईंहरुले पार्टीको लाइनलाई कसरी क्रियान्वयन गर्ने होला ? कसरी सफल बनाउने होला ? कसरी पार्टी र सरकारका राम्रा कामको प्रचारप्रसार गर्ने होला र कसरी पार्टीमा एकता कायम गर्ने होला ? आफ्नो स्वार्थका निम्ति गुट भजाउने, व्यक्ति नेताहरुको दब्बु बन्ने वा एउटालाई खसाल्ने, एउटालाई तान्ने काममा तपाईंहरु लाग्नुहुने छैन । तर, पनि तपाईंहरुले पनि अलिकति सोचिदिनुस् । पार्टी एकता गराउन कसरी भूमिका खेल्ने ? सुदृढ गर्न कसरी भूमिका खेल्ने ? नेताहरुको बीचमा राम्रो छलफल, राम्रो भावनात्मक एकता होस् भन्ने कुरामा तपाईंहरुले पनि भूमिका खेल्नुपर्छ । तपाईहरुले पनि भनेको छु मैले । आफूले नगर्ने, हामीलाई भन्ने भनेर भन्नुहोला । हामीले नै गर्ने हो । हामी भनेको तपाईंहरु पनि हो । तपाई हामी सबै मिलेर गर्नुपर्छ । त्यसकारण पार्टी एकतालाई सुदृढ गर्नका लागि हामीले भूमिका खेल्नुपर्छ र अनुशासित ढंगले पनि हाम्रो संगठनमा भूमिका खेल्नुपर्छ । तपाईंहरु पार्टीको अराजक ढङ्ले पार्टीको टिप्पणीकार पनि नहुनुस्, पार्टीको तर्फबाट मैले भने, तपाईंहरु पर्चाकार पनि नबन्नुस् । यो दुईवटा तपाईंहरुले ख्याल गर्ने कुरा हुन् । 

त्यसो गर्दाखेरी हामीले जुन मिडिया स्ट्राटेजी बनाउँछौं, त्यसलाई क्रियान्वयन गर्न तपाईहरु अगाडि जानु होला । अहिले प्रचार विभाग वा प्रेस संगठन नेपालमा क्षमता भएका सबै साथीहरु पर्न नसक्नु होला । यत्रो विशाल पार्टीमा धेरै क्षमतावान साथीहरु हुनुहुन्छ । तर, त्यसको मतलव उहाँहरुको भूमिकालाई कम गरिँदैन । सबैको सकारात्मक सुझावहरु लिइन्छ र त्यसलाई क्रियान्वयनका निम्ति हामीले नीति निर्माण गर्दा आत्मसात गर्छौं । अहिले पनि तपाईंहरु विशेषतः प्रेस संगठनका साथीहरुलाई भन्छु, हाम्रो इञ्चार्ज, सहइञ्चार्ज, संयोजकहरुलाई त बोलाउँछौं । सँगै बसेर पोलिसी र एक्सन प्लान बनाउँछौं । तपाईंहरु सबैलाई नै म के भन्छु भने तपाईंहरुले लिखितरुपमा सुझाव दिनुस्– अब प्रचार विभागले मिडिया स्ट्राटेजी बनाउने के हो ? एक्सन प्लान बनाउने के हो ? तपाईंहरुसँग औपचारिकरुपमै माग गरें मैले । गुनासोमात्र गरेर हुँदैन । गनथनमात्र गर्ने होइन । अब हामीले बनो पोलिसी, एक्सन प्लान कस्तो हुनुपर्छ ? तपाईंहरुले लिखितरुपमा सुझाव दिनुस् । त्यसपछि हामी एकै ठाउँमा बसेर मिलाउँछौं । र, अहिलेको नेपालको परिवर्तनको प्रक्रियालाई हाम्रै पार्टीको नेतृत्वमा नेपाली जनताले प्रत्यक्ष भोग्न पाउनेगरी, साम्राज्यवाद र प्रतिक्रियावादलाई छोडेर सिङ्गो विश्व उत्साहित हुनेगरी अगाडि बढाउन सम्भव छ । त्यसको निम्ति तपाईंहरुलाई अपिल गर्दै विदा हुन्छु । धन्यवाद !

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा केन्द्रीय प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रेस संगठन नेपालको केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा राष्ट्रिय भेलामा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)

यो पनि पढ्नुहोस्

पार्टी र प्रेस संगठनबीचको अन्तरसम्बन्ध तथा साझा कार्यभार

नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

(श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा केन्द्रीय प्रचार विभागका प्रमुख हुनुहुन्छ ।)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय