यी हुनसक्छन् तत्काल ट्राफिक जाम कम गर्ने सूत्र

dainikonline
विना भट्टराई | मंसिर २३, २०७६ सोमबार | 0

काठमाडौँ उपत्यकाको सबैभन्दा विकराल समस्या बन्दै गएको छ, ट्राफिक जाम । ट्राफिक जामका कारण समयमै गन्तव्यमा पुग्न नसक्दा यात्रुहरु आजित बनेका छन् । एक दिन हैन, दुई दिन हैन, प्रत्येक दिन यो समस्या उपत्यकावासीले भोग्नु परेको छ । अझ भनौँ अफिस हिँडेका कर्मचारीलाई एकातिर ट्राफिक जामले तनाव दिन्छ भने अर्कोतिर समयमै अफिस नपुग्दा बोसको तनाव । कर्मचारी मात्र हैन विद्यार्थी, शिक्षक तथा सबै सर्वसाधारणका लागि यो तनाव प्रत्येक दिन कायमै रहन्छ । 

हरेक मानिसले आफ्नो जिम्मेवारी पूरा गर्नु उसको कर्तव्य मानिन्छ । भनिन्छ, जिम्मेवारी उठाउन त्यति सजिलो छैन । तर जिम्मेवारी उठाउनुभन्दा पनि ठूलो युद्ध त उपत्यकाका सडकका यात्रा गर्ने सर्वसाधारणले भोग्नु परेको छ । १५ मिनेट लाग्ने बाटोमा ट्राफिककै कारण १ घण्टा ढिलो हुन्छ । आधा घण्टा लाग्ने बाटोमा २ घण्टा लाग्छ । एकातिर समयको हानी तथा अर्कोतिर स्वास्थ्यको खराबी दुबै भोग्नु पर्छ । ट्राफिक जामको समस्याले गर्दा उत्पन्न हुने तनावले स्वास्थ्यमा समेत नराम्रो असर पर्दै आएको छ । हरेक दिन थपिने जनसंख्या, सवारीसाधन, त्यसमाथि खाल्डाखुल्डी बाटोले गर्दा ट्राफिकको समस्या अझ विकराल बन्दै गएको छ । 

कठिनपूर्ण सार्वजनिक सवारीसाधनको यात्रा 
उपत्यकामा ट्राफिक जामको समस्या त छँदैछ, त्यसमाथि सार्वजनिक सवारीसाधनमा यात्रा गर्नु झनै कठिनपूर्ण हुन्छ । गाडी चढ्नै तछाडमछाड गर्नुपर्छ । बल्लबल्ल गाडी चढ्यो, खुट्टा टेक्ने ठाउँनै हुँदैन । तैपनि सहचालकको चित्त बुझ्दैन्, प्रत्येक रुटमा आवाज आउँछ, “पछाडि जानुस्, पछाडि जानुस्, अझ पछाडि ।” 

बसभित्र च्यापिएर कतिबेला उत्रने होला भन्ने भैसक्दा यात्रुलाई अर्को समस्या आइलाग्छ, ट्राफिक जाम । बसभित्रका यात्रु निसास्सिएर उकुसमुकुस भइसक्दा पनि गन्तव्य आइपुग्दैन । बस एक सेकेण्ड हिँड्दासाथ फेरि रोकिन्छ । सेकेण्ड सेकेण्डमा रोकिँदारोकिँदै १५ मिनेट लाग्ने बाटोमा  १ घण्टा बितिसक्छ । अझ झर्नुपर्ने स्थान आउँदैन । जब गाडीबाट झर्न थालिन्छ तब सानोतिनो युद्ध नै लडेजस्तो अवस्था हुन्छ । जसरीतसरी गन्तव्यमा पुगेर झर्दा थकानले शरीर लुथ्रुक्क भइसक्छ । यस्तो अवस्थामा अफिस पुगेको कर्मचारीले कति फुर्तिलो भएर काम गर्ला ? कलेज पुगेको विद्यार्थीले कति फुर्तिलो भएर पढ्ला ? घर पुगेकी गृहणीले कति फुर्तिलो भएर परिवार सम्हाल्लिन् ? त्यो आफै एकपटक कल्पना गर्न सक्नुहुन्छ । 

सवारीसाधनको बढ्दो चाप 
काठमाडौँ उपत्यकामा ट्राफिक जामको मुख्य कारण भनेकै बढ्दो सवारी चाप, मर्मत नभएका सडक, यातायात व्यवस्थापनमा देखाइएको लापरवाही हो । आर्थिक वर्ष २०७५÷२०७६ अनुसार मुलुकभर ३ लाख १८ हजार ४ सय ७७ सवारीसाधन थपिएका छन् । जसमध्ये मोटरसाइकल मात्रै २ लाख ४९ हजार ५ सय ८१ रहेको छ । त्यस्तै मिनी बसको संख्या १७ सय ५१ छ भने कार तथा भ्यानको संख्या १७ हजार ९ सय ५३ छ । जसमध्ये काठमाडौँमा मात्रै १२ लाख सवारी साधन दर्ता भएका छन् । अन्य क्षेत्रमा दर्ता भएका सवारीसाधन पनि काठमाडौँ उपत्यकामै गुड्ने गर्दछन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा अत्यधिकरुपमा निजी सवारी साधन भित्रिएको र देशका ७७ वटै जिल्लाबाट गाडीहरु काठमाडौँ भित्रिने भएका कारण पनि यहाँको ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । 

रातारात ट्राफिक व्यवस्थापनमा कायापलट गर्नुपर्छ भनेर त सम्भव नहोला । तर पनि केही हदसम्म यसको व्यवस्थापन गर्न सकिन्छ । छोटो समयका लागि गरिएको व्यवस्थापनसँगै  दीर्घकालीन योजनाको विकल्प पनि रोज्नुपर्ने हुन्छ ।  स्मार्ट लाइट, सिसी टिभीको व्यवस्था, डिजिटल अभिलेख प्रणालीलगायतको व्यवस्था गर्न सके केही हदसम्म ट्राफिक व्यवस्थापनमा सहज त होला तर छोटो समयका लागि मात्र । यो मात्रै सम्पूर्ण विकल्प हैन । केही यस्ता कुरा छन् जसले झन बढी ट्राफिक जामको समस्या बढाइरहेका छन् । त्यसतर्फ पनि सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न आवश्यक छ । 

सडक खन्नेलाई के गर्ने ?
ट्राफिक जामको मुख्य समस्या भनेकै उपत्यकामा पूर्वाधार निर्माण तथा खाल्डाखुल्डी सडकका कारण हुने गरेको सर्वविदितै छ । एक दिन सडक पिच हुन्छ, अर्को दिन ढल, मेलम्ची जस्ता योजनाले सडक खन्न शुरु गर्छन् । सडक खनेर बेवारिशे अवस्थामा छोडिदिँदा त्यसले यात्रु तथा सर्वसाधारणलाई मर्का त पार्छ नै अर्कोतिर ट्राफिक जामसँगसँगै दुर्घटना पनि निम्त्याउन सक्छ । जथाभावी बाटो खन्ने तथा भत्काउने काम रोक्नका लागि सडक डिभिजन कार्यालयले केही सूत्र अपनाउनु पर्ने हुन्छ । सडक भत्काउने ढल तथा मेलम्ची योजनालाई अनुमति दिँदा त्यसमा २ वटा नियम लगाउन सके केही हदसम्म त्यसलाई रोक्न सकिन्छ । 
नियम १ :  जसले सडक भत्काउँछ, उसैले भत्काएको सडक पिच गर्ने व्यवस्था ।
नियम २ : अनुमति नलिई सडक खन्ने तथा तोकिएको समयमा सडक खनेर पिच तथा मर्मत नगर्नेलाई कारबाही तथा चर्को जरिवानाको व्यवस्था ।

माथिका दुई नियम फलो गर्नसके केही हदसम्म जथाभावी बाटो खन्ने तथा भत्काउने काममा केही कमी आउन सक्छ । यो नियम छोटो विकल्पका लागि उपयुक्त हुन्छ । दिर्घकालिन योजनामा यो नियमले मात्र सम्भव हुँदैन्।

फुटपाथको व्यवस्थापन 
सडक पेटी तथा फुटपाथमा पसल तथा निर्माण सामाग्री भरीभराउ हुन्छ । पसलेले बाटोसम्मै सामान राख्दा मान्छे हिँड्ने ठाउँ नै हुँदैन । मान्छे हिँड्न बनाएको फुटपाथमा सामान भरिए कहाँबाट हिँड्नु यात्रु ? यो उपत्यकामा यात्रा गर्ने यात्रुका लागि निकै ठूलो समस्या देखिएको छ । फुटपाथमा पसल थाप्ने व्यापारी मात्र नभई सटर लिएर व्यापार गर्दै आएका पसलेले पनि बाटोसम्मै सामान थुपारेर सडक जाम गरिरहरेका छन् । एउटा दुईवटा मात्र हैन्, प्रत्येक पसलेले फुटपाथ मिचेर सामान राख्ने गरेका छन् । यसले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ट्राफिक जाममा असर पारिरहेको छ । 

हुन त महानगरपालिकाले फुटपाथमा सवारी पार्किङ तथा राखिएका पसल बेला बेलामा हटाउने गर्दछ । तर त्यो काम पनि त्यति प्रभावकारी बन्न सकेको छैन । एकदिन हटायो अर्कोपटक फेरि उस्तै । फुटपाथै मिचेर व्यवसाय गरेका पसलेहरुका लागि पनि अहिलेसम्म कसैको ध्यान पुग्न सकेको छैन । त्यसकारण फुटपाथ खाली गराउनका लागि सम्बन्धित निकायले कडा एक्सन लिन आवश्यक देखिन्छ । फुटपाथ मिच्नेलाई ठूलो मात्रामा जरिवाना तथा कारबाहीको व्यवस्था गर्न सक्ने हो भने छोटो समयमै यो समस्या समाधान हुन्छ । 

स्टेशनमा गाडी रोख्न समय निर्धारण
ट्राफिक जामको अर्को समस्या भनेको यात्रु चढाउन सवारी साधनले गर्ने मनोमानी हो । जहाँ जामको समस्या हुन्छ, त्यही स्थानमा एउटा ठूलो गाडी १५–३० मिनेटसम्म रोकेर राखिदिँदा पनि ट्राफिक जामको समस्या आइलाग्ने गर्दछ । अझ भन्नुपर्दा सवारीले बाटै छेकेर यात्रु झार्ने तथा ओराल्ने गर्दा अरुले पनि त्यसको असर भोग्नु पर्ने हुन्छ । केही मिनेट मात्रै ढिलो गर्दा पनि त्यहाँ ट्राफिक चाप बढ्न थाल्छ ।

स्टेशनमा यात्रु झार्न र चढाउनका लागि नियम लागु भएको छ । तर, स्टेशनमा कति समयसम्म गाडी रोक्न मिल्ने भनेर समय निर्धारण हुन सकेको छैन । जसका कारण एउटै गाडीले अन्य सवारीसाधनलाई समेत असर पर्नेगरी मनोमानी रुपमा गाडी रोकिराखेका हुन्छन् । उदाहरणका लागि सबैभन्दा बढी जाम हुने बानेश्वर चोकमा एउटा गाडी १५ मिनेट रोक्छ । एउटा गाडी मात्र त्यति समय रोक्दा त्यसले कम्तिमा १५ देखि ५० सवारीसाधनलाई असर गरिरहेको हुन्छ । एउटा गाडीले त्यतिधेरै असर गर्नसक्छ भने, त्यहाँ त्यस्ता थुप्रै गाडी हुन्छन्, जसले ट्राफिक जाम निकै बढाएका छन् । विभिन्न स्थानबाट छुटेका ती गाडीको संख्या धेरै हुन्छ र अझ बढी त्यहाँ जाम देखिन्छ । त्यसैले स्टेशनमा गाडी रोक्न मिल्ने छोटो समय निर्धारण गर्नसक्दा ट्राफिक जाम कम गर्न यसले पनि केही हदसम्म सहयोग गर्न सक्छ ।

काठमाडौँ उपत्यकामा ट्राफिक जाम कम गर्नका लागि दीर्घकालीन योजनाका बारेमा पनि चर्चा त हुँदै आएको छ । द्रूतमार्ग, वैकल्पिक बसपार्क जस्ता योजनाको पनि चर्चा हुने गरेको छ । तर यो योजना भनेको दीर्घकालीन योजना हो । त्यो योजना पूरा नहुँदासम्म केही छोटा योजनाका बारेमा पनि सोच्न आवश्यक छ । छोटो समयका लागि अपनाएका यी योजनाले पनि दीर्घकालीन योजनामा केही हदसम्म सहयोग पु¥याउने काम गर्छ । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय